after_navbar

परीक्षणबाट पुष्टि भएकै छैन, खोप बनेको दावी कसरी गर्न सक्छु ?


जेठ २४, २०७७


‘कोरोनाविरुद्ध नेपाली खोप’ बनाउने प्रोफेसरसँगको कुराकानी

ad

कोरोनाविरुद्धको खोप नेपालमै बन्यो भनेर यतिखेर निक्कै चर्चा परिचर्चा भइरहेको छ । कतिसम्म भने, त्यो खोपको बारेमा विश्व स्वास्थ्य संगठनले नै पनि चासो दिएको छ भनिँदैछ । हेटौंडास्थित बन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डा. ललितकुमार लाल दासले उक्त खोप तयार गरेको भनेर प्रचारमा आइरहेको छ । वास्तवमा, कुरा के हो ? साँच्चै नै खोप बनेकै हो त ? यसबारेमा ‘खोप बनाउने’ भनिएका प्रोफेसर दास आफैं चाहिँ के भन्छन् ? प्रस्तुत छः उनीसँगको कुराकानीको सम्पादित उतार ।

कोरोनाविरुद्ध तपाईंले खोप बनाउनुभएको कुराहरु आइरहेका छन् । त्यसका पछाडिका आधारभूत सिद्धान्तहरु के छन् ? के त्यसको प्रयोगशालामा परीक्षण भएको छ ?

मेरो आफ्नो कन्सेप्ट वा आधार भनौं, कोरोनाको ग्लाइको प्रोटिन वा स्पाइक प्रोटिन, अनि विभिन्न किसिमका प्रोटिनहरु एम, इ, आरएनए, न्यूक्लिक एसिड– ती सबैको स्फेरिकल स्ट्रक्चरहरुले गर्ने कामहरुको अध्ययन हो । कोरानामा हुने काँडाजस्तो त्यो स्पाइकलाई ग्लाइको प्रोटिन पनि भनिन्छ ।

कुनै पनि प्रोटिनलाई डिन्याचुरेशन गर्न सकिन्छ । त्यो भन्नुको अथृ कुनै पनि प्रोटिनको नेचुरल कन्डिसनमा नेचुरल टेम्परेचर, त्यसको नेचुरल एक्टिभिटी, केमिकल प्रोपर्टिज छ भने त्यो राम्रो अवसथा हो । जस्तो अण्डालाई उदाहरण लिऔं । सामान्य अवस्थाको अण्डालाई हामी राम्रो भन्छौं । २, ४ दिनपछि त्यो कुहिएर जान्छ र हामी यो सडिसक्यो भन्छौं । त्यसरी सड्नु नै डिन्याचुरेसन हो ।


मेरो दिमागमा के आयो भने कोरोनाको पनि सबै स्ट्रक्चरको मैले अध्ययन गरें । त्यसको विभिन्न मोडेलहरु पनि कस्तो छ भनेर मैले हेरें । त्यसको ग्लाइको वा स्पाइक प्रोटिनलाई कसरी नष्ट गर्न सकिन्छ त ? त्यसबारेमा मैले एउटा परिकल्पना गरें । एउटा निश्चित प्रकारको एन्जाइमेटिक प्रक्रियाबाट त्यसलाई डिन्याचुरेसन, ब्रेकडाउन गर्न सकिन्छ ।


त्यही कुरा मेरो दिमागमा के आयो भने कोरोनाको पनि सबै स्ट्रक्चरको मैले अध्ययन गरें । त्यसको विभिन्न मोडेलहरु पनि कस्तो छ भनेर मैले हेरें । त्यसको ग्लाइको वा स्पाइक प्रोटिनलाई कसरी नष्ट गर्न सकिन्छ त ? त्यसबारेमा मैले एउटा परिकल्पना गरें । एउटा निश्चित प्रकारको एन्जाइमेटिक प्रक्रियाबाट त्यसलाई डिन्याचुरेसन, ब्रेकडाउन गर्न सकिन्छ ।

तपाईं कोरोनाभाइरसको प्रोटिनलाई भंग गर्ने कुरा गर्दै हुनुहुन्छ ?

हो । त्यसको लागि मैले दुईवटा इन्जाइम बनाएँ । त्यसको म्याद १ महिनाको हुन्छ । त्यो इन्जायमले ग्लाइकोप्रोटिनको बाहिरी आवरणलाई भंग गरेर भाइरसलाई ध्वस्त पारिदिन्छ ।

सरलाई मेरो प्रश्न, तपाईंले बनाउनुभएको यो खोप परिकल्पना मात्रै हो कि भाइरसमाथि क्लिनिकल ट्रायल पनि गर्नुभएको छ ?

हैन, यहाँ हामीसँग भाइरस छैन । कोरोनाभाइरस कहाँबाट ल्याउनु ?

त्यसो हो भने, तपाईंका इन्जाइमहरुले भाइरसको प्रोटिनलाई ध्वस्त पार्छ भनेर प्रोटिनको स्ट्रक्चरहरु चाहिँ कसरी थाहा पाउनुभयो ?

कोरोनाभाइरसमा स्पाइकहरु दुई किसिमका हुन्छन्ः एउटा ग्लाइकोसाइटिक र अर्को प्रोटिन । ती दुईका बीचमा बण्ड हुन्छ त्यसलाई स्पाइक बण्ड भन्छौं । त्यहाँ थुप्रै बण्डहरु हुन्छन् जसलाई पोलिपेप्टाइक भनिन्छ । त्यो बण्डलाई हामीले भंग गर्न सक्यौं भने त्यो छुटिन्छ ।

त्यसो गर्नका लागि एउटा त इन्जाइम भयो । त्यसले भाइरसलाई डिन्याचुरेसन गर्छ । त्यसमा अरु आठ–नौवटा कम्पोनेन्टहरु पनि मैले दिएको छु । तिनले चाहिँ स्पाइकहरुबीचको बण्डलाई भंग गरिदिन्छ ।

यसबारेमा मैले विभिन्न लिटरेचरहरु हेरेर अरु कम्पोनेन्टहरु थपेर मैले खोपका तीनवटा मोडेलहरु तयार गरेको हुँ ।

प्योर इन्जामहरु मात्रै लिएर तयार गरिएको मेरो स्याम्पल होइन । यो कुरामा प्रष्ट हुनु पर्यो । त्यसमा अरु पनि सामग्रीहरु समेत प्राकृति रुपमा हैन, प्रोसेसिङ गरेर मैले तयार गरेको छु ।

तपाईं त प्रोफेसर, तपाईंलाई थाहा छ नै होला, कुनै पनि खोप तयार भयो भन्ने दावी गर्नका लागि परीक्षणका विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ । प्रयोगशालामा गरिएका प्रयोगात्मक परीक्षण, त्यसपछि जनावरहरु हुँदै मानिसमा समेत चरणबद्ध रुपमा गरिने प्रयोगात्मक परीक्षणपछिको प्रभावकारिता र त्यो सुरक्षित रहेपछि मात्रै खोप तयार भएको दावी गर्न मिल्ला नि हैन र ? यसको प्रोसेस के छ ?

मेरो बुझाइमा मैले तयार पारेको इन्जाइमले भाइरसलाई नष्ट गर्छ । यो मेरो आफ्नो परिकल्पनामा आधारित बुझाइ हो । ट्रायलको कुरा अर्को पक्ष हो ।


मेरो बुझाइमा मैले तयार पारेको इन्जाइमले भाइरसलाई नष्ट गर्छ । यो मेरो आफ्नो परिकल्पनामा आधारित बुझाइ हो । ट्रायलको कुरा अर्को पक्ष हो ।


मैले इम्युनिटी पावरका लागि अर्को ६ वटा मोडेल बनाएको छु  । त्यसका लागि एन्टिअक्सिडेन्ट तत्व भएका मानिसहरुले खाइरहेका, कुनै खराब असर नभएका खानयोग्य विरुवाहरु लिएर फरक फरक कम्पोनेन्ट र मात्राहरु मिलाएको छु ।

यसरी मैले परिकल्पना गरेअनुसार खोप सफल भयो भने त्यसको दुईटा मोडेल हुनेछः एउटा भाइरस नष्ट गर्ने खोप, अर्को इम्युनिटी पावर बढाउने खोप ।

तपाईंले सोध्नुभएको ट्रायलको कुरा गर्दा हामीकहाँ कोरोनाभाइरसको नमूना छैन । तपाईंले प्रश्नमा राम्रो कुरा उठाउनुभएको छ : खोप परीक्षणका धेरै चरणहरु हुन्छन् । त्यसैले काठमाडौंस्थित टेकु प्रयोगशालामा मेरो खोपको भाइरसमाथि परीक्षण भयो भने मैले तयार गरेको खोपले काम गर्छ गर्दैन भन्ने कुरा सुनिश्चित हुने थियो । त्यसबाट आउने नतिजाका आधारमा परीक्षणका अन्य चरणहरु मुसा लगायत हुँदै चरणबद्ध रुपमा मानिसहरुमा समेत परीक्षण गर्न अघि बढ्न सकिन्थ्यो ।

यसको अर्थ अहिले पनि तपाईंको खोप सैद्धान्तिक परिकल्पना मात्रै भयो ?

हो ।

तपाईंले आफ्नो यो अध्ययन परकल्पनालाई कुनै अन्तर्राष्ट्रिय जर्नलहरुमा पठाएर त्यसको विश्वसनीयता परीक्षण गर्ने र विश्वलाई जानकारी दिने कोशिश गर्नुभएको छ ?

मैले यी सबै कुराहरु जर्नलहरु हेरेरै गर्दैछु त !

हैन, मेरो भनाइ तपाईंले आफ्नो अवधारणा सही वा गलत छ भनेर परीक्षण गर्नको लागि केही गर्नुभयो ?

राम्रो प्रश्न । मैले मेरो अवधारणालाई प्रष्ट पार्न एउटा उदाहरण दिन्छु । तपाईं गुर्जो, तितेपाती, सिस्नो खानुहुन्छ । तिनका बारेमा प्रशस्तै लिटरेचरहरु पाइन्छन् । यो कमन कुरा भयो । अब पहिले ट्रायल गर, अनि मात्रै खा भन्ने ? नेट सर्च गरेर हेर्नुहोस्, मैले जति कुराहरु लिएको छ, ती सबै पहिल्यै नेटमा छ । तिनका बारेमा मसँग सिरिज अफ आर्टिकलहरु छन् । त्यसकारणले तिनमा ती कुराहरु छन् भन्ने हुन्छ र व्यवहारिक रुपमा नै पनि मानिसहरुले तिनलाई प्रयोग गरेकै छ । मैले गरेको कुरालाई जर्नलमा टेस्ट गर्नैपर्ने, पठाउनै पर्ने भन्ने हुँदैन ।

तपाईं त प्रोफेसर, मलाई प्राज्ञिक रुपमा नै जवाफ दिनुहोला । फरक सन्दर्भमा प्रभावकारी भएका औषधीहरु नै पनि अहिले नयाँ ढंगले देखापरेको, नयाँ रुप लिएर आएको भाइरसमा काम नै गर्छ भन्ने ठोकुवा गर्नुका सट्टा कम्तिमा प्रयोगशालाको परीक्षणबाट त्यसको प्रभावकारिता प्रमाणित नभएसम्म  सार्स–कोभ–२का विरुद्ध खोप बनेको भनेर तपाईंले दावी गर्न मिल्दैन भनेर त भन्न सकिएला नि, हैन र ?

मैले खोप बनेको भनेकै छैन, मोडेलका कुरा मात्रै गर्दैछु । कुनै पनि अध्ययनको अन्तिम चरण भनेकै टेस्टिङ नै हो । त्यो नगरेसम्म त्यो प्रभावकारी वा सफल हुन्छ हुँदैन भनेर मैले दावी गर्न मिल्दैन । मेरो बुझाइमा त भयो, आम मानिसको बुझाइमा त्यो परीक्षणपछि मात्रै सही छ छैन भन्ने प्रष्ट हुन्छ ।


मैले खोप बनेको भनेकै छैन, मोडेलका कुरा मात्रै गर्दैछु । कुनै पनि अध्ययनको अन्तिम चरण भनेकै टेस्टिङ नै हो । त्यो नगरेसम्म त्यो प्रभावकारी वा सफल हुन्छ हुँदैन भनेर मैले दावी गर्न मिल्दैन ।


यसको अर्थ अझै यो अवधारणाकै चरणमा छ । प्रारम्भिक परीक्षणसमेत भएको छैन ?

हो, छैन, छैन । मैले यो कुरा भनिरहेकै छु । प्रारम्भिक चरणकै प्रयोगात्मक परीक्षण हुन पनि बाँकी छ । केही दिनअघि मात्रै प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल आएर हेर्नुभएको छ र त्यसको लागि उहाँले सहयोगको बचन पनि दिनुभएको छ ।

तपाईंले आफ्नो अवधारणा सही छ कि गलत छ भन्ने कुरा जाँच्न प्रयोगात्मक चरणमा जाने कुरा त छँदैछ । साथसाथै, तपाईंले कोरोनाविरुद्धको खोपसम्बन्धी आफ्नो अवधारणालाई कुनै प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशनको लागि पठाउनुभएको छ कि छैन ?

छैन, छैन । अहिले मैले केही गर्न भ्याएको छैन ।

यसअघि तपाईंले कुनै भाइरसविरुद्ध यस्ता औषधीहरु बनाएर प्रयोग गर्नुभएको थियो ?

मैले पढेको फाइटो केमेस्ट्री हो । यो भनेको कुन विरुवाले के सक्रिय गर्छ र त्यसबाट कुन औषधी बन्न सक्छ भन्ने समेत अध्ययन गरिन्छ । मैले विद्यावारिधि गर्दा मैले मुक्तिनाथ, जाजरकोट क्षेत्रमा अनुसन्धान गरेको हुँ । त्यहाँबाट मैले विरुवाहरु लिएर, स्थानीयहरुसँग सबै कुरा बुझेर अध्ययन गरेर मैले बनारसमा गएर विरुवा, जरा, हाँगाविगा सबै चीजहरु लगेर मैले त्यहाँ काम गरेको हुँ । छोटोमा भन्दा, फाइटो केमेस्ट्री भनेको विरुवामा आधारित अध्ययन हो ।


मैले पढेको फाइटो केमेस्ट्री हो । यो भनेको कुन विरुवाले के सक्रिय गर्छ र त्यसबाट कुन औषधी बन्न सक्छ भन्ने समेत अध्ययन गरिन्छ । मैले विद्यावारिधि गर्दा मैले मुक्तिनाथ, जाजरकोट क्षेत्रमा अनुसन्धान गरेको हुँ ।


तपाईंको फाइटो केमेस्ट्रीमा भाइरोलोजी वा ब्याक्टेरोलोजीसम्बन्धी चाहिँ पढ्नुपर्छ कि पर्दैन ?

भाइरोलोजी भन्नुको अर्थ भाइरसको परीक्षण गर्ने ठाउँ हो । जस्तो कि, तपाईंसँग कुनै नमूना छ, कुनै औषधी छ । भाइरोलोजी ल्याबमा फरक फरक खालका भाइरसहरु हुन्छन् ।

मेरो जिज्ञासा, भाइरोलोजी त फाइटो केमेस्ट्री भने जस्तै ज्ञान–अध्ययनको भिन्न शाखा नै हो नि हैन र ?

हैन, हैन, हामी बायोलोजिकल एक्टिभिटी भन्छौं । त्यो भन्नुको अर्थ पहिले विरुवाहरुबाट कम्पोनेन्टहरु निकाल्ने, त्यसाई हामी भन्छौं– फाइटो केमेस्ट्री । मैले विरुवाहरुबाट नौवटा शुद्ध कम्पाउण्ड निकालेको छु । ती कमै मात्र हुन्छन्, ५ एमजी, १० एमजी । ती कम्पाउण्डहरु बायोलोजिकल एक्टिभिटी अर्थात् डाइबिटिज, भाइरस आदि केमा काम लाग्छ भनेर जाँच्ने प्रक्रियालाई हामी बायोलोजिकल टेस्ट भन्छौं । त्यो टेस्ट भाइरससम्बन्धी गर्यो भने भाइरोलोजीमा जान्छ । मानौ, मैले सर्पगन्धाबाट निकालेको कुनै एउटा शुद्ध कम्पाउण्डले भाइरसको विरुद्ध काम गर्ने औषधी बनाएर परीक्षण गर्छ भने त्यो एउटा मात्रै शुद्ध कम्पाउण्ड भयो । त्यो निकाल्न पनि ३, ४ वर्ष समय लाग्छ । तर अहिले समय छैन । तर मैले के बुझेको छु भने तपाईंले भनेको भाइरोलोजी भनेको त्यो ल्याब हो, जहाँ भाइरसको परीक्षण गरिन्छ । सार्स, इबोला, अहिलको कोबिड र पहिले पहिलेका जति पनि भाइरसहरु छन् ती सबैको टेस्ट भाइरोलोजी ल्याबमा हुन्छ ।

त्यसैले मैले तयार गरेको खोपले कत्तिका काम गर्छ भनेर परीक्षण गर्ने भाइरोलोजी ल्याबमा नै हो ।

सारमा भन्नु पर्दा  तपाईंले बनाउनुभएको भनिएको खोप अवधारणामा चाहिँ कोरोनाविरुद्ध तयार छ तर यसको परीक्षणले पुष्टि हुन बाँकी नै छ भनेर बुझौं ?

हो, यो कुरा त मैले भनिरहेकै छु । अहिले बाहिर चर्चा गरिएजस्तै खोप नै बनिसकेको हो भन्ने मेरो दावी होइन । जबसम्म परीक्षणहरुबाट यो पुष्टि हुँदैन, मैले दावी कसरी गर्न सक्छु ?

यसो भनौं त– सैद्धान्तिक अवधारणा तयार छ, भोलि प्रयोगबाट पुष्टि भयो भने कोरोनाविरुद्धको खोप बन्न सक्छ ?

हो, एकदमै कुरा त्यही हो ।

साभार :- रातोपाटी डटकमबाट

प्रतिक्रिया दिनुहोस

data-href="