after_navbar

सरकारलाई एसईई परीक्षा खारेज गर्न निर्देशन


पुष १६, २०७८


काठमाण्डौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

ad

विहिवार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । समितिका सभापति जयपुरी घतीमगरले १२ सम्म विद्यालय तहको परीक्षा भएको र राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिनुपर्ने हुँदा एसईई खारेज गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।

समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो । तर, सरकारले कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो । २९ जेठ २०७७ मा समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । आज बैठकले २०७७-०२-२९ गतेको एसईई खारेजीको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन दिएको छ भने बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

यस्तै सङ्घीय शिक्षा विधेयक यथाशक्य छिटो संसदमा पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई आग्रह गरेको छ भने मेडिकल कलेजहरूले बढी शुल्क लिइरहेको सम्बन्धमा सत्यतथ्य बुझी समस्या समाधान गर्न पनि बैठकले मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस

data-href="